लेखनाथ महोत्सवमा औद्योगिक बहस

पाेखरा | पुस ८, २०८२

लेखनाथ महोत्सवमा औद्योगिक बहस

पोखरा:  कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । 


महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ ।


महोत्सवको छैटौँ दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ ।


उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यवसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाएका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यवसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए । उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरू जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूति गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो ।


यस्तै, दिप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाउँदै संघर्षका कथा साझा गरिन् ।


मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद वास्तोलाले सानो समिलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नु परेको बताए । विशेष गरी नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावले व्यवसाय सञ्चालनमा समस्या आएको स्मरण गर्दै संघर्षकै बीच व्यवसायलाई निरन्तरता दिएको उनले बताए ।


कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डिपिआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।


स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । आर्थिक कारोबारतर्फ दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।


लेखनाथ महोत्सवले स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्